सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी एक महिला दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन्। ३८ वर्षीया माया कठायत, ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकसहित आइतबार बिहान करिब ७ बजेदेखि बेपत्ता भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढाथापाका अनुसार मायाका श्रीमान् भूपेन्द्रले श्रीमती र केटाकेटीसहित बेपत्ता भएको बेलुकी प्रहरी चौकी गुमीमा खबर गराएका थिए।
प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा खटिएको टोली र स्थानीयले खोजतलास गर्ने क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पारेका छन्।
उनीहरू नदीमा हाम फालेको हुनसक्ने प्रहरीको आशंका छ । नदी आसपास क्षेत्रमा ३५ जना प्रहरी र स्थानीयले खोजिरहेको प्रहरीको भनाइ छ ।