इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
नेपाल डेली
आइतबार, १७ साउन २०८३, १० : २९ मा प्रकाशित
काठमाडाैं। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भएको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा ‘स्ट्रेट अफ होर्मुज’लाई पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताएका छन्।
“यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु,” ट्रम्पले लेखेका छन् । उनका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेको छ । यद्यपि, ट्रम्पको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पाँच महिनादेखि जारी द्वन्द्वमा यो पछिल्लो अप्रत्याशित मोड हो ।
एक दिनअघि मात्र ट्रम्पले इरानलाई वार्तामा आउन बाध्य पार्न पुनः व्यापक सैन्य आक्रमणको तयारी भइरहेको सङ्केत दिनुभएको थियो । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए ।
ट्रम्पले त्यसबेला इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने, आणविक हतियार विकास रोक्ने तथा इरान समर्थित सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य गर्ने उद्देश्य रहेको बताएका थिए।
यद्यपि, युद्धका उद्देश्य र रणनीति समयक्रममा परिवर्तन हुँदै आएका छन् । जुनको मध्यतिर भएको अन्तरिम युद्धविरामपछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो । तर, ‘स्ट्रेट अफ होर्मुज’मा जहाजहरूमाथि पुनः आक्रमण भएपछि केही सातामै युद्धविराम भङ्ग भएको थियो ।
साउदी अरबको चिन्ता ट्रम्पको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तापछि आएको हो । छलफलको जानकारी राख्ने स्रोतका अनुसार युवराजले अमेरिका–इरान द्वन्द्व थप चर्किन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए।
स्रोतका अनुसार, यदि अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, पुल वा विद्युत् केन्द्रहरूमा ठूलो आक्रमण ग¥यो भने त्यसको जवाफमा इरानले साउदी अरब तथा अन्य खाडी मुलुकका ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने चिन्ता साउदी पक्षको छ । युवराजले ट्रम्पसँग इरानविरुद्ध अमेरिकाले चाल्न सक्ने सम्भावित कदमबारे स्पष्ट जानकारी माग गरेका थिए।
ह्वाइट हाउसका एक अधिकारीले दुई नेताबीच वार्ता भएको पुष्टि गरे पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । यसै साता साउदी अरबले इराकस्थित इरान समर्थित समूहका रसद र हतियार भण्डारणस्थलमाथिको अमेरिकी कारबाहीमा साथ दिएको थियो ।
साथै, उसले अमेरिका र इरानलाई वार्तामा फर्कन पनि आग्रह गर्दै आएको छ । युवराजले इरानसम्बन्धी रणनीतिबारे छलफल गर्न आफ्ना भाइ तथा रक्षामन्त्री खालिद बिन सलमानलाई वासिङ्टन पठाउनुभएको थियो । उहाँले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यसैबीच, ट्रम्पले मङ्गलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुभएको थियो । फेब्रुअरीमा युद्ध सुरु भएयता उहाँरूबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो ।
नेतान्याहुले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । निर्वाचनअघि बढ्दो राजनीतिक दबाब नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा यो युद्ध ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा पनि चुनौतीपूर्ण बन्दै गएको छ ।
विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको यो द्वन्द्व अमेरिकी जनमतमा लोकप्रिय छैन । यसै साताको सुरुमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण अमेरिकी सेनाले विफल पारेपछि ट्रम्पले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए।
शुक्रबार उहाँले ‘हामी जित्न चाहन्छौँ’ भन्दै आवश्यक परे इरानमाथि ‘अत्यन्त कडा’ प्रहार गर्ने बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले युद्धविरामसम्बन्धी समझदारी उल्लङ्घन गर्दै व्यावसायिक जहाज र अमेरिकी सैनिकलाई लक्षित आक्रमण गरेको आरोप लगाउनुभएको छ । ट्रम्पको पछिल्लो घोषणाअघि अमेरिकी अधिकारीहरू उच्च सतर्कतामा थिए ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहेको र आवश्यक परे तत्काल कारबाही गर्न सक्षम रहेको बताउनुभएको थियो । यसैबीच, अमेरिकी विदेश मन्त्रालयले इरानसँग बढ्दो तनावलाई मध्यनजर गर्दै मध्यपूर्वका १० देशमा रहेका अमेरिकी नागरिकका लागि उच्च सुरक्षा सतर्कता जारी गरेको छ ।