काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री प्रहरी दिवसको विशेष समारोहमा भने अनुपस्थित देखिए ।
शाहले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको जानकारी गराएका छन् ।
प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोशी-त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्ने प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो । यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैङ्क, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताए ।
‘नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ । राष्ट्रसेवकको असली परीक्षा सङ्कटका बेला हुन्छ । सङ्कटको घडीमा हाम्रो धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै सङ्कट टार्न मद्दत गर्दछ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री शाहले पठाएको सन्देश आईजीपी दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए ।