लगातारको वर्षाले कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजमा रातो बत्ती र झण्डा फहराइयो

लगातारको वर्षाले कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजमा रातो बत्ती र झण्डा फहराइयो

इनरुवा। पूर्वी पहाडी तथा तराईका जिल्लाहरूमा भइरहेको लगातारको वर्षाका कारण कोशी नदीमा पानीको बहाव उच्च भएको छ।

बिहीबार साँझ ५:१५ बजेको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेन्ड पुगेको छ। पानीको बहाव बढेपछि ब्यारेजका कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पानीको स्तर खतराको तहमा पुगेपछि कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको कन्ट्रोल रुमले जनाएको छ। नदीमा पानीको बहाव अझै बढ्ने अनुमान गरिएकाले जलस्तरको निरन्तर अनुगमन भइरहेको छ।

नदीमा पानीको सतह बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सजग रहन सूचित गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले विशेष मौसमी बुलेटिन जारी गर्दै आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

छुटाउनुभयो कि ?