झापा। पूर्वी नेपाललाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकखण्डको कामले तीव्रता पाएको छ। आयोजनाको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत कालोपत्र (पिच) गर्ने कार्य सम्पन्न भएको छ।
ठेक्का सम्झौताको अवधि सकिन अब करिब चार महिना बाँकी छ। यसै अवधिभित्र आयोजनाको कम्तीमा ९० प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो। उनका अनुसार हाल दैनिक सातदेखि आठ सय मिटरसम्म सडक कालोपत्र भइरहेको छ।
"आयोजनाको बाँकी अवधि चार महिना छ। यही गतिमा काम अघि बढ्दा तोकिएको समयभित्रै ९० प्रतिशत प्रगति हासिल गर्ने हाम्रो लक्ष्य छ," आयोजना प्रमुख पन्तले भन्नुभयो।
पुल निर्माणको प्रगति ३१ प्रतिशत
सडक विस्तारको तुलनामा पुल निर्माणको कार्य भने केही सुस्त देखिएको छ। हालसम्म पुलतर्फको समग्र भौतिक प्रगति ३१ प्रतिशत मात्र रहेको छ।
पूर्वी खण्डमा साना-ठूला गरी कुल २१ वटा पुल निर्माण भइरहेका छन्। जसमध्ये ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई खोलाका पुलहरूको निर्माण कार्य जारी छ। यस्तै, पश्चिम खण्डमा पर्ने रतुवा, बक्राहा र लोहन्द्रा खोलामा पनि धमाधम पुल निर्माण भइरहेको छ।
हात्तीका लागि अन्डरपास र ओभरपास बन्दै
आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्ट निर्माण भइसकेका छन् भने बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपासको कामलाई एकैसाथ अगाडि बढाइएको छ।
सडक सुरक्षा र सवारी आवगमनलाई सहज बनाउन पूर्वी खण्डका चारआली चोक, बिर्तामोड र चारपानेमा 'मोटरेबल ओभरपास' निर्माण गर्ने योजना छ। यस्तै, चारआली क्षेत्रको जङ्गलमा वन्यजन्तु (विशेषगरी हात्ती) को आउजाउलाई सुरक्षित बनाउन 'अन्डरपास' र पैदलयात्रीका लागि छ वटा 'पेडेस्ट्रियन क्रसिङ' निर्माण गरिनेछ।
एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा भइरहेको यस आयोजनाअन्तर्गत पूर्वी खण्डको ४५ किलोमिटर (काँकरभिट्टा–सितापुरी) सडक स्तरोन्नतिका लागि रु १० अर्ब छ करोड ९४ लाखमा ठेक्का सम्झौता भएको हो।