सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार भएको दुर्घटनामा मोटरबोटमा सवार अन्य यात्रु नदीमा डुबेर बेपत्ता भएको छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईले मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको बताए। मृतक तीनै जनाको शव चतरा अस्पतालमा राखिएको उनले बताए।

मोटरबोटमा करिब डेढ दर्जन यात्रु सवार रहेको बताइएको छ। बराहक्षेत्रबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट दुर्घटनामा परेपछि धेरै यात्रु सप्तकोशी नदीमा डुबेर बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बेपत्ता यात्रुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार मोटरबोट सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना नगरेका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। सञ्चालकले स्थानीय प्रशासनसँग अनुमति नलिई मोटरबोट सञ्चालन गरेको र क्षमताभन्दा बढी यात्रु चढाएको आरोप स्थानीयले लगाएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।