काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्ती हटाएपछि भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र (होल्डिङ सेन्टर) मा राखिएका सुकुमवासीहरूलाई सरकारले शनिबारसम्म ठाउँ खाली गर्न अल्टिमेटम दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरको एक टोलीले बुधबार दिउँसो होल्डिङ सेन्टरमा सूचना टाँस गर्दै २०८३ भदौ ११ गते शनिबार अपराह्न ४:०० बजेभित्र केन्द्र खाली गर्न निर्देशन दिएको हो ।
प्रशासनले टाँसेको सूचनाअनुसार भूमि समस्या समाधान समिति, काठमाडौंको भदौ ९ गतेको पत्र र भूमि व्यवस्थापन तथा अभिलेख विभागको विवरणका आधारमा त्यहाँ बसोबास गर्दै आएका १९ परिवारको अवस्था वर्गीकरण गरिएको छ :
-
जग्गा भेटिएका ७ परिवार : होल्डिङ सेन्टरमा रहेका ७ परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको प्रमाण फेला परेको छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(क) र ५२(ख) अनुसार उनीहरू भूमिहीनको सूचीमा नपर्ने भएकाले तत्काल केन्द्र खाली गर्न भनिएको छ ।
-
भूमिहीन १२ परिवार : वास्तविक भूमिहीन ठहरिएका १२ परिवारलाई सम्बन्धित स्थानीय तहबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको र उनीहरूले जग्गाको 'निस्सा' समेत प्राप्त गरिसकेको प्रशासनले जनाएको छ । ती परिवारलाई निस्सा बुझ्न र सरकारले उपलब्ध गराउने घरभाडा सुविधा लिएर होल्डिङ सेन्टर छोड्न अनुरोध गरिएको छ ।
सुकुमवासीको अडान : ‘सूचना टाँसे पनि जाँदैनौं’
हाल उक्त होल्डिङ सेन्टरमा १९ परिवारका ५९ जना आश्रित छन् । तर, त्यहाँ बसोबास गरिरहेकाहरूले भने सरकारको निर्देशन अस्वीकार गरेका छन् ।
केन्द्रमा बस्दै आएका सञ्जय चौधरीले सरकारले आफूहरूलाई अपायक पर्ने ठाउँमा जग्गा दिन खोजेको भन्दै असन्तुष्टि जनाए । ‘जहाँ मन लाग्यो त्यहीँ जग्गा दिएर हुन्छ ? कि हामीलाई जहाँबाट ल्याइएको हो त्यहीँ लगिदिनुपर्यो, कि त त्यतै वरिपरि जग्गा दिनुपर्यो,’ चौधरीले भने, ‘हामीले घरभाडा पनि नलिने भनेका छौं । प्रशासनले सूचना टाँसे पनि हामी यहाँबाट जाँदैनौं ।’
उनका अनुसार यसअघि गत बिहीबार पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोली आएर केन्द्र खाली गर्न मौखिक आग्रह गरेको थियो । तर, विस्थापितहरूले पुरानै बस्ती आसपासमै व्यवस्थापन हुनुपर्ने अडान राख्दै आएका छन् ।
नदी किनारको मापदण्ड कार्यान्वयन र बाढीको जोखिम न्यूनीकरणका लागि भन्दै उपत्यकाका विभिन्न नदी किनारबाट हटाइएका बस्तीका बासिन्दालाई अस्थायी रूपमा बोडेस्थित तालिम केन्द्रमा व्यवस्थापन गरिएको थियो । प्रशासनको पछिल्लो सूचना र सुकुमवासीको अस्वीकारपछि शनिबार होल्डिङ सेन्टर खाली गराउने विषय थप पेचिलो बन्ने देखिएको छ ।