काठमाडौं। देशभर चिसो बढ्ने क्रमसँगै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ७.९ डिग्री सेल्सियसमा झरेको छ।
केही दिनअघि ८.३ र ८ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम क्रमिक रूपमा घट्दै मंगलबार बिहान ७.५ डिग्री सेल्सियससम्म मापन गरिएको थियो। आज (बुधबार) पनि उपत्यकाको न्यूनतम तापक्रम ७ . ९ डिग्री सेल्सियसकै बीचमा रहने महाशाखाको अनुमान छ।
महाशाखाले हरेक दिन बिहान ८:४५ बजे आधिकारिक न्यूनतम तापक्रम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ। रातको समयमा आकाश सफा रहने भएकाले बिहानीपख चिसो बढ्दै गएको हो।
यसैबीच, हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। यस्तै, बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। अहिले पनि ती भेगका केही स्थानमा हुस्सु लागेको छ।