ठमेलमा व्यवसायको आवरणमा पर्यटक ठगी गर्ने २२ जना कारबाहीमा, ठगिएको रकमसमेत फिर्ता

ठमेलमा व्यवसायको आवरणमा पर्यटक ठगी गर्ने २२ जना कारबाहीमा, ठगिएको रकमसमेत फिर्ता

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको आवरणमा पर्यटकलाई ठगी तथा अवाञ्छित गतिविधि गर्ने २२ जनालाई कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति ठमेल क्षेत्रमा आकस्मिक अनुगमन गरी नियमविपरीत सञ्चालित व्यवसाय तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार अनुगमनका क्रममा चर्को आवाजमा सङ्गीत बजाएर ध्वनि प्रदूषण गर्ने रेस्टुरेन्ट तथा बार, विना दर्ता सञ्चालित स्पा, अन्तःशुल्क इजाजतविना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटकलाई ठगी गर्ने डान्सबार सञ्चालक गरी कुल २२ जनालाई कारबाही गरिएको छ। गत शुक्रबारको अनुगमनमा पहिचान गरिएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर आगामी एक साताभित्र ध्वनि प्रदूषण नियन्त्रण गर्न र आवश्यक मापदण्ड पूरा गरी नियमअनुसार व्यवसाय सञ्चालन गर्न कडा निर्देशन दिइएको छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले विना दर्ता सञ्चालन भइरहेका स्पा तथा बारहरूलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता भई कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको जानकारी दिनुभयो। परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको नेतृत्वमा तयार भई जिल्ला सुरक्षा समिति काठमाडौँबाट स्वीकृत 'ठमेललाई २४ सै घण्टा सञ्चालन सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८०' लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो।

अनुगमन टोलीले अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीका मदिरा तथा अन्य सामान जफत गर्दै एक साताभित्र कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिएको छ। यस्तै, सडकमा मदिरा सेवन गरी होहल्ला गर्नेमध्ये केहीलाई सम्झाइबुझाइ छाडिएको र अटेर गर्ने केहीलाई नियन्त्रणमा लिइएको परिषद्का महासचिव पशुपति कँडेलले बताउनुभयो। रातको समयमा स्वरूप परिवर्तन (मोडिफाई) गरी चर्को आवाज निकाल्दै मोटरसाइकल चलाउने चालकलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको छ भने सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने बहानामा अनैतिक गतिविधि सञ्चालन गर्नेहरूलाई नगर प्रहरीले हटाएको छ।

डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायका नाममा विशेषगरी भारतीय तथा विदेशी पर्यटकलाई अनावश्यक रूपमा अत्यधिक रकम असुली ठगी गर्ने र कुटपिटमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाइएको महासचिव कँडेलले जानकारी दिनुभयो। अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकमसमेत फिर्ता गराइएको छ भने यस्ता प्रवृत्ति रोक्न प्रशासनले निगरानी थप कडा पारेको छ।