बुटवल । कार्तिक शुक्ल पूर्णिमा, गुरु नानक जयन्ती तथा स्थानीय नहान मेलाको अवसरमा कपिलवस्तुका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । शुद्धोदन, मायादेवी र यशोधरा गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै मंगलबार (मंसिर ८) सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारी, मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन मुसलमान र शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीको हस्ताक्षरमा जारी छुट्टाछुट्टै सूचनामा बिदाबारे जानकारी गराइएको छ ।
बिदाका दिन तीनै गाउँपालिकाका कार्यालय, वडा कार्यालय तथा मातहतका शैक्षिक संस्था बन्द रहनेछन् । स्वास्थ्य संस्थाबाट अत्यावश्यक सेवा भने सञ्चालन हुने जनाइएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक पूर्णिमा र गुरु नानक जयन्तीका अवसरमा स्थानीय नहान मेला समेत लाग्ने भएकाले गाउँपालिकाहरूले सार्वजनिक बिदा दिएका हुन् ।