काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महात्मा गान्धीको सत्य, अहिंसा र सेवाभावको आदर्शलाई आत्मसात् गर्दै नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारत भ्रमणका क्रममा मंसिर ७ को विहान राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले गान्धीको जीवनले सत्यको शक्ति संसारका कुनै पनि शक्तिभन्दा ठूलो हुने प्रमाणित गरेको बताएका हुन्।
‘भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको मैले गान्धीजीको विरासतमा त्यही अमर प्रकाश देखेको छु, जसले करुणा नै सबैभन्दा ठूलो शक्ति हो र वास्तविक नेतृत्व भनेको समाजका सबैभन्दा कमजोर वर्गको निःस्वार्थ सेवा गर्नु हो भन्ने सन्देश दिन्छ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
उनले नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटतामा मात्र सीमित नरहेको उल्लेख गर्दै आस्था, आत्मीयता र पुस्तौँदेखिको मित्रताले दुई देशलाई जोडेको बताएका छन्।
गान्धीका कालजयी आदर्शको सम्मान गर्दै नेपाल–भारत सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटुट विश्वासका आधारमा थप प्रगाढ बनाउने नेपालको प्रतिबद्धता उनले दोहोर्याएका छन्।
‘गान्धीजीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको हाम्रो साझा यात्रालाई सधैँ मार्गदर्शन गरिरहून्,’ प्रधानमन्त्री शाहले भनेका छन्।