दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

 काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।


भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।