आइतबार पनि विद्यालय खुल्ने

आइतबार पनि विद्यालय खुल्ने

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई आइतबारसमेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअनुसार विद्यालयलाई दिइने स्थानीय बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको भन्दै बिदा मिलानका लागि यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाले शैक्षिक क्यालेन्डर २०८३ मा जे उल्लेख भए पनि मंसिर र फागुन महिनाका प्रत्येक आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।