बुवाको बञ्चरो प्रहारबाट घाइते छोरा र छोरीको मृत्यु

बुवाको बञ्चरो प्रहारबाट घाइते छोरा र छोरीको मृत्यु

दाङ । दैलेखमा बुवाको बञ्चरो प्रहारबाट घाइते एक छोरा र छोरीको मृत्यु भएको छ। जिल्लाको चामुन्डा बिन्दासैन नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरको बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीलाई नगर अस्पताल दुल्लुले मृत घोषणा गरेको हो। 

जिल्ला प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विकका अनुसार नगर अस्पतालका स्वास्थ्यकर्मीले चेकजाँचपछि बिहान ११ बजेपछि दुबै जनालाई मृत घोषणा गरेका थिए। अम्बरको बञ्चरो प्रहारबाट उनकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामी पनि गम्भीर घाइते छन्। उनीहरू दुबैलाई टाउकोमा गम्भीर घाउ खत रहेको छ। 

जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार घाइते आमा छोरालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतका लागि रिफर गरिएको छ। सामान्य घरायसी विवादका क्रममा शनिबार बिहान साढे ९ बजेतिर श्रीमानले आफ्नी श्रीमती सहित तीन सन्तानमाथि बञ्चरो प्रहार गरी गभ्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। 

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कंडेलको कमाण्डमा पुगेको टोलीले बञ्चरो प्रहार गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

धेरै पढिएको