चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको अनौपचारिक संवाद बाहिरिएपछि विवाद, सांसद न्यौपानेले दिए स्पष्टीकरण

चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको अनौपचारिक संवाद बाहिरिएपछि विवाद, सांसद न्यौपानेले दिए स्पष्टीकरण

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा ११ दिने चीन भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको अनौपचारिक राजनीतिक संवादसहितको भिडियो सार्वजनिक भएपछि नेपाली राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। उक्त संवाद विवादमा तानिएपछि भिडियोमा सुनिने मुख्य पात्रमध्येका एक सांसद श्रीराम न्यौपानेले शुक्रबार राति सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

सार्वजनिक भिडियोमा के थियो ?

चीनको एक प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन अवलोकन गर्ने क्रममा खिचिएको भिडियोमा सांसदहरूबीच नेपालको समसामयिक राजनीति, विशेषगरी नेपाली कांग्रेसको आधिकारिकता विवाद र नेकपा (एमाले) को नेतृत्वबारे भएको संवाद रेकर्ड भएको छ। सांसद न्यौपानेले नै भ्रमणको जानकारी दिने उद्देश्यले आफ्नो फेसबुकमा अपलोड गरेको उक्त भिडियोबाट यो अनौपचारिक संवाद बाहिरिएको हो।

सार्वजनिक भिडियोमा सांसद न्यौपानेले नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकता विवादतर्फ इङ्गित गर्दै ‘कांग्रेस अझै शेरबहादुर देउवाकै हातमा जानुपर्ने’ धारणा राखेको सुनिन्छ। उनको भनाइमा सहमति जनाउँदै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले स्थानीय तहको निर्वाचनसम्म अदालतबाट पनि देउवा पक्षलाई नै मान्यता मिल्ने गरी फैसला हुनुपर्ने आशय व्यक्त गरेकी छिन्। साथै, बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई रोक्न नहुने र उनीहरू जति चर्को रूपमा प्रस्तुत हुन्छन्, त्यति नै रास्वपालाई राजनीतिक लाभ मिल्ने आशयको टिप्पणी गरेको सुनिन्छ।

संवादका क्रममा अर्का एक सांसदले ‘उनीहरूको स्वभाव नै त्यही भएकाले नरोकिने’ प्रतिक्रिया दिएका छन्। त्यसपछि न्यौपानेले विपक्षी दलहरूको कमजोरीको फाइदा रास्वपाले लिने भए पनि त्यतिले मात्र नपुग्ने र आफूहरूले पनि काम गरेर देखाउनुपर्ने बताएका छन्। जवाफमा बाँस्कोटाले ‘काम नगरे जनताले आफूहरूलाई पनि पुराना दलहरूकै अवस्थामा पुर्‍याइदिने’ भन्दै सचेत गराएको अडियोमा सुन्न सकिन्छ।

सांसद न्यौपानेको स्पष्टीकरण

उक्त संवादलाई लिएर न्यायिक प्रक्रियामाथि टिप्पणी गरेको र अन्य दलको आन्तरिक विवादबाट राजनीतिक लाभ लिन खोजेको भन्दै आलोचना भएपछि सांसद न्यौपानेले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको तीव्र अपेक्षाकै कारण रास्वपाले अत्यधिक जनमत प्राप्त गरेको उल्लेख गरेका छन्। अनौपचारिक संवादको मूल मर्म पनि जनताको विश्वासलाई कामबाट प्रमाणित गर्नुपर्ने विषयमै केन्द्रित रहेको उनको दाबी छ।

उनले फेसबुकमा लेखेका छन्, ‘जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्‍याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ।’

भ्रमणको पृष्ठभूमि र उद्देश्य

सीपीसीको औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय सांसद तथा नेताहरूको टोली गत कात्तिक २९ गते ११ दिने भ्रमणका लागि चीन प्रस्थान गरेको थियो। भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, समीक्षा बाँस्कोटा, श्रीराम न्यौपाने, सागर ढकाल, रिमा विश्वकर्मालगायतका सांसदहरू सहभागी छन्।

चीन जानुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो। सो क्रममा सभापति लामिछानेले भ्रमणको मूल उद्देश्यमा केन्द्रित रहन र आचारसंहिताको पूर्ण पालना गर्न टोलीलाई निर्देशन दिएका थिए। नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई), औद्योगिक विकास र सार्वजनिक सेवा प्रवाहको अध्ययन गर्न गएको टोलीको अनौपचारिक राजनीतिक संवाद बाहिरिएपछि अहिले भ्रमणको आचारसंहिता र कूटनीतिक मर्यादामाथि समेत बहस सुरु भएको छ।