प्रधानमन्त्री बालेन्द्र शाहलाई दिल्ली विमानस्थलमा भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहलाई दिल्ली विमानस्थलमा भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि भोलि (आइतबार, मंसिर ६ गते) नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ।

गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको विमानमार्फत दिल्ली प्रस्थान गर्नेछन्। दिल्ली अवतरण गरेपछि उनको पहिलो औपचारिक भेटवार्ता भारतीय विदेशमन्त्री एस. जयशंकरसँग हुने तय भएको छ।

भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार उक्त वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल हुनेछ।

“भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासजस्ता सहकार्यका विविध क्षेत्र समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्,” सचिव राईले भने, “यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ।”

नेपालका लागि भारत एक प्रमुख र महत्त्वपूर्ण विकास साझेदार रहेकाले दुवै देशका शीर्ष नेतृत्वबीच विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष छलफल हुने मन्त्रालयले जनाएको छ। दुई देशबीच इतिहास, सभ्यता, संस्कृति र जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको उल्लेख गर्दै सचिव राईले उच्चस्तरीय भ्रमणले नेपाल–भारत मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय रहनेछ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्। नयाँ दिल्ली पुगेपछि त्यहाँस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही अधिकारीहरू समेत भ्रमण टोलीमा समावेश हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।