काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा पर्याप्त अवसर पाइसकेको भन्दै अब बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्ने बताएका छन् ।
इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अब आफूले कुनै पद वा उपलब्धि हासिल गर्न बाँकी नरहेको बताए ।
डडेलधुराको सामान्य परिवारबाट राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै उनले जनताले आफूलाई पर्याप्त अवसर दिएको बताए ।
‘म डडेलधुराको साधारण परिवारमा जन्मेको व्यक्ति हुँ। पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई जनताले दिइसक्नुभयो। मैले केही पाउनु पनि छैन। मैले आफ्नो जीवन रहेसम्म देशलाई दिने हो, जनतालाई दिने हो। अब दिनुपर्ने मात्रै छ,’ उनले भने ।
देउवाले आफ्नो जीवन रहुन्जेल नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।