दोस्रो विश्वयुद्धपछि पहिलो पटक सी, ट्रम्प र पुटिनबीच त्रिपक्षीय बैठक हुँदै, विमानस्थलमै स्वागत र अँगालो

दोस्रो विश्वयुद्धपछि पहिलो पटक सी, ट्रम्प र पुटिनबीच त्रिपक्षीय बैठक हुँदै, विमानस्थलमै स्वागत र अँगालो

बेइजिङ। चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज पहिलो पटक औपचारिक त्रिपक्षीय बैठक हुँदै छ । बैठकका लागि ट्रम्प र पुटिन बुधबार राति नै चीन पुगिसकेका छन् र सोही रात तीन शीर्ष नेताबिच ऐतिहासिक भेटघाट भएको हो । दोस्रो विश्वयुद्धपछि विश्वका यी तीन प्रमुख शक्तिका नेताहरूबिच हुन लागेको यो पहिलो त्रिपक्षीय बैठक हो ।

यस बैठकमार्फत चीनले अमेरिका र रुसजस्ता ठूला शक्तिराष्ट्रहरूलाई समेत एउटै वार्ताको टेबलमा ल्याउन सक्ने क्षमता राख्ने शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्न चाहेको छ । आफ्नै नेतृत्वमा विश्वमा चीनको भूमिका प्रभावशाली रहेको, अन्य देशहरूले चीनको कुरा सुन्ने र सम्मान गर्ने सन्देश संसार तथा विशेषगरी स्वदेशी नागरिकलाई दिन राष्ट्रपति सी इच्छुक देखिनुभएको छ ।

रुसको राष्ट्रपति कार्यालय (क्रेमलिन) ले बुधबार राति चिनियाँ समयअनुसार चीनको सेन्जेनमा तीन नेताबिच भएको भेटको भिडिओ सार्वजनिक गरेको छ । रुसी सञ्चारमाध्यमले सी, पुटिन र ट्रम्पको भेटलाई ठूलो कूटनीतिक उपलब्धिका रूपमा चित्रण गरेका छन् । केही रुसी सञ्चारमाध्यमले यसलाई दिनको सबैभन्दा महत्त्वपूर्ण तस्बिर भनेका छन् भने एक सरकारी समाचार एजेन्सीले उक्त दृश्यलाई ‘ऐतिहासिक हस्त मिलन’ को संज्ञा दिएको छ ।

रुसस्थित बीबीसीकी पत्रकार लिसा फोख्तका अनुसार यो दृश्य क्रेमलिनले विश्वसामु देखाउन चाहेको महत्त्वपूर्ण तस्बिर हो । क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडिओमा पुटिन, ट्रम्प र सी रातो कार्पेटमा सँगै देखिएका छन् र त्यहाँ सीकी श्रीमती पनि उभिएको देख्न सकिन्छ । सन् २०२५ को अगस्टमा अलास्कामा सम्पन्न रुस–अमेरिका शिखर सम्मेलनपछि ट्रम्प र पुटिनबिच यो पहिलो प्रत्यक्ष भेटघाट भएको हो ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार राति स्थानीय समयअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन् । राष्ट्रपति बनेयता सीले विमानस्थलमै पुगेर कुनै विदेशी नेताको स्वागत गरेको यो पहिलोपटक भएको विश्वास गरिएको छ । यसलाई केवल औपचारिकतामा सीमित नराखी रणनीतिक र सुझबुझपूर्ण कूटनीतिक क्षणका रूपमा विश्लेषण गरिएको छ ।

यस वर्षको सुरुमा अमेरिका भ्रमणमा पुग्दा राष्ट्रपति ट्रम्पले सीलाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए र अहिले सीले त्यही कूटनीतिक सम्मान फर्काएको बताइन्छ । ट्रम्प चीन अवतरण गर्दा सीले विमानस्थलको रनवेमै रातो कार्पेट ओछ्याएर स्वागत गरेका थिए र भेट्नासाथ दुवै नेताले अँगालो हालेका थिए ।