हुथी विद्रोहीको दबाबपछि बाब अल-मन्देब क्षेत्रबाट यमनको सरकार समर्थक सेना फिर्ता

हुथी विद्रोहीको दबाबपछि बाब अल-मन्देब क्षेत्रबाट यमनको सरकार समर्थक सेना फिर्ता

काठमाडाैं। साउदी अरेबियाको समर्थन प्राप्त यमनका सरकार समर्थक सेनाहरूले इरान समर्थित हुथी विद्रोहीहरूसँग हप्तौंसम्म चलेको भीषण लडाइँपछि देशको अन्तरिम राजधानी 'एडेन' को रक्षा गर्न आफ्ना सैनिकहरूलाई पुनः परिचालन (रिडिप्लोय) गरिरहेको बताएका छन्।

‘सदर्न आर्म्ड फोर्सेज’ (दक्षिणी सशस्त्र बल) ले एडेन र आसपासका क्षेत्रहरूको सुरक्षा व्यवस्था सुदृढ पार्न लाल सागरको दक्षिणी छेउमा अवस्थित रणनीतिक रूपले अत्यन्तै महत्वपूर्ण ‘बाब अल–मन्देब जलडमरू’ (Bab al-Mandab Strait) क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएको जनाएको छ।

हुथीद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले सेना पछि हटेको उक्त क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको दाबी गरेका छन्। यस विषयमा साउदी अरेबियाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यो कदमसँगै हुथी विद्रोहीहरूले सेप्टेम्बर महिनामा अचानक आक्रमण गरी कब्जा गरेको प्रमुख समुद्री व्यापारिक मार्ग नजिकको क्षेत्र फिर्ता लिन हप्तौंसम्म चलाइएको सैन्य कारबाही अन्त्य भएको छ।

सरकार समर्थक सेनाहरूले हुथीहरूबाट महत्वपूर्ण भूभाग फिर्ता लिने प्रयासस्वरूप अक्टोबरको सुरुमा उक्त जलडमरूलाई "सुरक्षित" गरिसकेको दाबी गरेका थिए। त्यसको एक महिनाअघि इरान समर्थित लडाकुहरूले जलडमरूको मुखमा रहेको पेरिम टापु (Perim Island) र रणनीतिक बन्दरगाह सहर मोखा (Mokha) लगायतका क्षेत्रहरू कब्जा गरेको बताएका थिए।

तर, यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको तर्फबाट लडिरहेको साउदी समर्थित दक्षिणी सशस्त्र बलले आइतबार दक्षिणी सहर एडेनको सुरक्षालाई "प्राथमिकता" मा राख्दै अन्यत्र फौज बलियो बनाउन सेना फिर्ता बोलाइएको बताएको हो।

सेनाले जारी गरेको विज्ञप्तिमा "अग्रमोर्चालाई बलियो बनाउन र विद्यमान खतराहरूको सामना गर्न धुबाब विमानस्थल (Dhubab Airport) र बाब अल–मन्देब क्षेत्रबाट" सैनिकहरू फिर्ता बोलाइएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, "राजधानी एडेन र छिमेकी प्रान्तहरूलाई सुरक्षित गर्ने, अग्रमोर्चा सुदृढ पार्ने र विद्यमान खतराहरूलाई सम्बोधन गर्ने प्राथमिकताका कारण यो कदम चालिएको हो।"

हुथी विद्रोहीहरूले उक्त जलमार्ग आसपासका क्षेत्र कब्जा गर्दा त्यहाँबाट आवतजावत गर्ने अन्तर्राष्ट्रिय पानीजहाजहरूलाई कुनै खतरा नरहेको बताए पनि साउदी अरेबियाका जहाजहरूलाई भने निशाना बनाइरहने चेतावनी दिएका थिए। यद्यपि, अमेरिका र इजरायलको इरानसँगको युद्धका कारण हर्मुज जलडमरू (Strait of Hormuz) प्रभावकारी रूपमा बन्द भएपछि साउदी अरेबियाले तेल निर्यातका लागि लाल सागरमै निर्भर रहनुपरेकोले हुथीको उक्त कब्जाले विश्वबजारमा तेलको मूल्यवृद्धि गर्न मद्दत पुर्‍याएको थियो।

यसैबीच, संयुक्त राष्ट्रसंघकी मानवअधिकार प्रवक्ता रविना शमदासानीले सबै पक्षलाई सर्वसाधारण र नागरिक पूर्वाधारहरूको रक्षा गर्न आग्रह गरेकी छन्। अगस्टमा लडाइँ चर्किएयता अभिलेख गरिएका सर्वसाधारण हताहतमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको उनले उल्लेख गरिन्।

पछिल्ला हप्ताहरूमा हुथीहरूले एडेनमा लगातार आक्रमण गर्दै आएका छन्, जसमा अक्टोबर १५ मा राष्ट्रपति भवनलाई लक्षित गरी गरिएको आक्रमण पनि समावेश छ, जसमा ५ जनाको मृत्यु र १६ जना घाइते भएका थिए।

यसको जवाफमा साउदी अरेबियाले सयौँ हवाई आक्रमण गरेको छ भने हुथीहरूले साउदीका सहर र पूर्वाधारहरूलाई लक्षित गरी सयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेका छन्।

लडाइँ चर्किएयता यमनमा करिब ३ लाख ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ। यस क्रममा सयौँ मानिसको मृत्यु भएको विवरण छ।

सन् २०१४ मा हुथी विद्रोहीहरूले राजधानी सानाबाट सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धले यमनलाई तहसनहस पारेको छ। सन् २०१५ मा सरकारको शासन पुनर्स्थापना गर्ने प्रयासस्वरूप साउदी नेतृत्वको अरब राष्ट्रहरूको गठबन्धनले हस्तक्षेप गरेपछि यो द्वन्द्व झन् चर्किएको थियो।

चार वर्षदेखि जारी अनौपचारिक युद्धविराम गत जुलाईमा भङ्ग भएको थियो, जतिबेला हुथीहरूले साउदी अरेबियाविरुद्ध "समुद्री नाकाबन्दी" को घोषणा गर्दै लाल सागरमा रहेका साउदी विमानस्थल, तेल प्रशोधन केन्द्र र ट्याङ्करहरूमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरेका थिए। आफ्नो नियन्त्रणमा रहेका बन्दरगाह र विमानस्थलहरूमा साउदीले लगाएको नाकाबन्दी तथा साना विमानस्थलमा भएको हवाई आक्रमणको बदलास्वरूप आफूहरूले यो कदम चालेको हुथीहरूको भनाइ छ।