काठमाडौँ । अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन् ।
अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बिबिसिले जनाएको छ । विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका नियमित बनाउन केही समय लाग्ने उनको भनाइ छ ।
शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट हुने उडानमा अस्थायी रोक लगाएपछि हवाई यातायात अस्तव्यस्त बनेको थियो । त्यसबेला आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमान प्रभावित भएका थिए । केही विमानलाई अन्य विमानस्थलमा अवतरण गराइएको थियो भने केही गन्तव्यतर्फ नै अघि बढेका थिए ।
उडान रोकपछि यात्रुहरू विमानभित्रै र विमानस्थलमा अलपत्र परेका थिए । फ्लाइटअवेयरका अनुसार शुक्रबार मात्रै ८ हजार ५०० उडान ढिलाइ भएका थिए भने ८ हजार उडान रद्द भएका थिए । शनिबार पनि ५ हजार ९०० भन्दा बढी उडान रद्द र ७ हजारभन्दा बढी ढिलाइ भएका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार हवाई ट्राफिक नियन्त्रक र पाइलटबीच सञ्चारका लागि प्रयोग हुने प्रणालीमा समस्या आएको थियो । यातायातमन्त्री डफीका अनुसार आर्कान्सासको एल डोराडोमा जडान गरिएको नेटवर्क राउटरले गलत संकेत पठाउँदा सञ्चार प्रणाली प्रभावित भएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न आवश्यक बजेट उपलब्ध गराउन संसद्लाई आग्रह गरेका छन् । उनले करिब ५० वर्ष पुरानो प्रविधिमा निर्भर हवाई नियन्त्रण प्रणालीलाई एकैपटक आधुनिक बनाउनुपर्ने बताएका छन् ।
अमेरिकी अधिकारीहरूले प्राविधिक समस्याको वास्तविक कारण र जिम्मेवारीबारे अनुसन्धान जारी रहेको बताएका छन् । प्रणालीको व्यापक सुधार नगरेसम्म यस्ता समस्या दोहोरिन सक्ने यातायातमन्त्री डफीको भनाइ छ ।