अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक दुई विमान ठोक्किए

अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक दुई विमान ठोक्किए

काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति यात्रुवाहक र कार्गो विमान आपसमा ठोक्किएका छन् ।

पनामा सिटीबाट आएको कोपा एयरलाइन्सको विमान ट्याक्सीवेमा अघि बढिरहेको थियो । सोही बेला त्यसको पखेटा यूपीएसको कार्गो विमानको अघिल्लो भागसँग ठोक्किएको हो । दुर्घटनामा यात्रुवाहक विमानका दुईजना सामान्य घाइते भएका छन् । विमानमा १६६ यात्रु र चालक दलका ६ सदस्य गरी १७२ जना सवार थिए । दुर्घटनापछि सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

अमेरिकी समयानुसार राति करिब ९ः१५ बजे दुर्घटना भएको थियो । त्यति बेला दुवै विमान विमानस्थलको ट्याक्सीवेमा गुडिरहेका थिए । यूपीएसको कार्गो विमान कोलम्बियाको बोगोटाका निम्ति उडान भर्ने तयारीमा थियो ।

घटनालगत्तै कोपा एयरलाइन्सका पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी)लाई आफ्नो विमानलाई अर्कोले ठक्कर दिएको जानकारी गराएका थिए । त्यसपछि कन्ट्रोल टावरले यूपीएसका पाइलटसँग उनीहरूको विमान अर्कोसँग ठोक्किएको हो कि ? भनेर सोधेको थियो ।

जवाफमा यूपीएसका पाइलटले आफूहरू केही अगाडि बढेको र त्यसक्रममा अर्को विमानको पखेटा आफ्नोसँग ठोक्किएको बताएका थिए । केही बेरपछि कोपाका पाइलटले आफ्नो विमानको बायाँ पखेटा समेत भाँचिएको जानकारी दिएका थिए ।

कोपा एयरलाइन्सका यात्रु सिजर फरेराले सीएनएनलाई बताएअनुसार, ठक्करपछि विमान अचानक एकातिर मोडिएको थियो । केही यात्रु आत्तिए पनि चालक दलका सदस्यले तत्काल सबैलाई आ–आफ्नो सिटमा बसिरहन आग्रह गरेका थिए ।

कोपा एयरलाइन्सले विमानलाई टर्मिनलसम्म ल्याएर सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको जनाएको छ । दुईजनालाई सामान्य चोट लागेको र अरू यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका कम्पनीले जनाएको छ । कम्पनीले दुर्घटनाको अनुसन्धानमा सम्बन्धित अधिकारीलाई सहयोग गर्ने पनि जनाएको छ ।