लिस्बन। नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा पोर्चुगल नेवा: खलको आयोजनामा सामूहिक म्हः पूजा तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी नेपाली राजदूतावासका तृतीय सचिव अनिल राणाको समेत विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात सांस्कृतिक प्रस्तुतिसहित स्वागत मन्तव्यबाट गरिएको थियो। कार्यक्रमको सञ्चालन दीपेन्द्र कपालीले गरेका थिए। कार्यक्रममा पवनबाबु दगोलले बाँसुरीको सुमधुर धुन प्रस्तुत गरेका थिए भने राजकुमार रिमाल तथा अनिल तुलाधरले गीत प्रस्तुत गरेका थिए। त्यसैगरी आर्या तुलाधरले आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई सांस्कृतिक रौनक प्रदान गरेका थिए।
कार्यक्रममा गंगाबहादुर नेम्कुलले नेपाल संवत् र विक्रम संवत्को ऐतिहासिक पृष्ठभूमि, महत्त्व तथा नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवत्को गौरवपूर्ण इतिहासबारे प्रकाश पारेका थिए ।
यसै अवसरमा नेम्कुलले नेपाल संवत्लाई नेपालको राष्ट्रिय पहिचान र ऐतिहासिक सम्पदाका रूपमा सम्मान गर्दै विदेशस्थित नेपाली दूतावासहरूको आधिकारिक पत्राचार, सूचना तथा प्रशासनिक कामकाजमा समेत नेपाल संवत्को प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। साथै नेपालको शैक्षिक पाठ्यक्रममा नेपाल संवत्को ऐतिहासिक महत्त्व र यसको प्रयोगसम्बन्धी विषय समावेश गर्नुपर्ने मागसहितको अनुरोधपत्र प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेलसमक्ष हस्तान्तरण गरे।
विदेशस्थित नेपाली दूतावासहरूमा नेपाल संवत् प्रयोगको तयारी अन्तिम चरणमा
कार्यक्रमका प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेलले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै नेवास् भाषामै सम्बोधन गरेका थिए। उनले नेवा: समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र सम्पदाको सम्मान गर्दै यसको संरक्षण तथा प्रवर्द्धनका लागि सामुदायिक एकताको आवश्यकता औँल्याए।
त्यसैगरी गंगाबहादुर नेम्कुलले हस्तान्तरण गरेको अनुरोधपत्रलाई सकारात्मक रूपमा लिँदै राजदूत पौडेलले नेपाल सरकार, परराष्ट्र मन्त्रालयबाट विदेशस्थित नेपाली दूतावासहरूमा नेपाल संवत्लाई समेत प्रयोगमा ल्याउने विषयमा आवश्यक कार्य अगाडि बढिरहेको र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
राजदूतको उक्त जानकारीले विदेशमा रहेका नेपाली समुदायमाझ नेपाल संवत्को संस्थागत प्रयोग र अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिक कालगणना प्रवर्द्धन हुने अपेक्षालाई थप बल पुगेको छ।
नेपाल संवत् केवल एउटा समुदायको सांस्कृतिक सम्पदा मात्र नभई नेपालको ऐतिहासिक पहिचान, मौलिकता र राष्ट्रिय गौरवसँग जोडिएको राष्ट्रिय संवत् हो। त्यसैले सरकारी निकाय, कूटनीतिक नियोग तथा शैक्षिक क्षेत्रमा यसको प्रयोग र अध्ययनलाई विस्तार गर्नु आवश्यक रहेको कार्यक्रममा उठाइएको थियो।
कार्यक्रमको अन्त्यमा पोर्चुगल नेवा: खलका अध्यक्ष राजेशमान जोशीले उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, कलाकार, आयोजक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
सामूहिक म्हः पूजा, नेवा: भाषा, संगीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत नेपाल संवत् ११४७ को स्वागत गर्दै सम्पन्न यस कार्यक्रमले पोर्चुगलमा नेपाली मौलिक संस्कृति संरक्षण, सामुदायिक एकता र नेपाल संवत्को राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने सन्देश दिएको छ।