आज शोक बिदा, मृतक सबैको सामूहिक अन्त्येष्टि गरिने

आज शोक बिदा, मृतक सबैको सामूहिक अन्त्येष्टि गरिने

मलंगवा । ईभी गाडी दुर्घटनामा परी १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा दुर्घटना हुँदा चक्रघट्टा गाउँपालिका–४ , सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार साँझ सूचना जारी गर्दै १३ जना गाउँपालिकावासीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिइएको जानकारी गराएका छन् ।

सूचनामा चक्रघट्टाका वडा कार्यालय, गाउँपालिका कार्यालय,विद्यालयलगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने उल्लेख गरिएको छ । साथै गाउँपालिकाले प्रत्येक मृतक बराबर ५० हजार रुपैयाँ अन्तिम संस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरेको छ । मृतकहरूको आज अन्तिम संस्कार गर्ने तयारी छ ।