स्याङ्जा। नेपाली काँग्रेस (देउवा समूह) को १५ औँ गण्डकी प्रदेशस्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा आयोजना हुने भएको छ।
नेपाली काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार पोखरास्थित दीपेन्द्र सभागृहमा हुने उक्त अधिवेशनको उद्घाटन पार्टी नेता शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ। अधिवेशनमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट कुल १ हजार ६०१ जना प्रदेश प्रतिनिधिहरूको सहभागिता रहनेछ।
अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न ७ वटा उपसमितिहरू गठन गरिएको उपसभापति श्रेष्ठले जानकारी दिए। आयोजकका अनुसार अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि खाना र खाजा (नास्ता) को प्रबन्ध आयोजककै तर्फबाट मिलाइएको छ भने आवासको व्यवस्था भने सहभागी प्रतिनिधि स्वयंले गर्नुपर्नेछ।