काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगन थापा तराई-मधेशको महत्त्वपूर्ण सांस्कृतिक पर्व छठ मनाउन सर्लाही क्षेत्र नम्बर ४ जाने भएका छन्।
काठमाडौँमा नेपाल संवत् तथा तिहार पर्व सम्पन्न गरेलगत्तै उनी छठ पूजाको मुख्य अवसर पारेर सर्लाही पुग्ने कार्यतालिका तय भएको उनको सचिवालयले जनाएको छ। थापा गत फागुन २१ मा सम्पन्न निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका थिए।
सर्लाही बसाइका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटहरूमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिमा सहभागिता जनाउने कार्यक्रम छ। यसका साथै उनले स्थानीय मतदाता, सर्वसाधारण नागरिक तथा पार्टीका नेता-कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदान गर्नेछन्।
मंगलबार थापा नेपाल संवत् ११४७ को उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमहरू तथा नेवार समुदायको परम्परागत म्हः पूजामा सहभागी भएका छन्। त्यस्तै, बुधबार भाइटीकाका दिन घरमै पारिवारिक वातावरणमा तिहार मनाएपछि उनी लगत्तै छठ पर्वका लागि मधेश प्रस्थान गर्नेछन्।