काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको संवत् भएको बताएका छन्।
नेपाल संवत्लाई विसं २०६५ मा राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भएको उल्लेख गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाको ऐतिहासिक योगदानको समेत उच्च स्मरण गरेका छन्।
यस मौलिक संवत्ले नेपालीहरूबीच राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावनालाई अझ बढी सुदृढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले गरेका छन्।