काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आज कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुन लागेको हो।
पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदै छन्। प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीका लागि आजको खेल महत्त्वपूर्ण रहेको छ। जारी लिगमा चार खेल खेलेको कर्णालीले दुईमा जित र दुईमा हार व्यहोर्दै ४ अंक जोडेको छ। अर्कोतर्फ, समान चार खेल खेलेको पोखरा अहिलेसम्म अंकविहीन छ। पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यसअघिका संस्करणमा यी दुई टोलीबीच भएका दुई भेटमा दुवैले एक-एक खेल जितेका थिए।
यस्तै, आजै अपराह्न ५ बजे सुरु हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। चितवन तेस्रो जितको खोजीमा रहँदा काठमाडौँ चौथो जित निकाल्दै अंकतालिकामा स्थिति बलियो बनाउने उद्देश्यमा छ।
जारी लिगमा चितवनले चार खेलमध्ये दुईमा जित, एकमा हार र एक खेलमा अंक बाँड्दै ५ अंक जोडेको छ। काठमाडौँ भने चार खेलमध्ये तीनमा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ तालिकाको माथिल्लो स्थानतर्फ अग्रसर छ। यसअघिका संस्करणमा यी दुई टोलीबीच भएका दुई खेलमा दुवैले एक-एक जित हात पारेका थिए।