काठमाडौँ: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार जनाको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
सिंहदरबारमा बसेको समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गरेको हो।
नाम अनुमोदित भएकामध्ये बागचन्दबाहेक अन्य तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुन्। प्रस्तावित न्यायाधीशहरूको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गरिएको थियो।
यसअघि न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइ समितिमा पठाएको थियो।