महोत्तरी। नेपालीको दोस्रो ठूलो चाड तिहार (दीपावली) पर्व शुक्रबारदेखि सुरु भएको छ। प्राचीन मिथिला क्षेत्रसहित मधेसका जिल्लाहरूमा पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाइँदै छ।
चन्द्रमासको कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्व यसपटक तिथिको घटबढका कारण छ दिनको परेको छ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्ण त्रयोदशीका दिन साँझ दीप प्रज्वलन गर्दै धातुका नयाँ भाँडाकुँडा वा गरगहना किनेर लक्ष्मीको पूजा आराधना गर्ने चलन छ। शुक्रबार सूर्योदयमा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए।
मिथिला क्षेत्रमा चाडबाड, तिथि, नक्षत्र र शुभकार्यको निक्र्योल मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने गरिन्छ। स्थानीय भाषामा 'दिवाली' भनिने यस पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई खुसी पार्न धातुका सामान, नयाँ भाँडाकुँडा, गहनाका साथै खरेटो र धनियाँ किन्ने धार्मिक परम्परा छ।
पञ्चाङ्गअनुसार शुक्रबार बिहान ११:१० बजेपछि सुरु भएको त्रयोदशी तिथि शनिबार बिहान १०:४७ बजेसम्म रहनेछ। त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार मनाइनेछ।
त्यसैगरी पञ्चाङ्गअनुसार आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ घरघरमा लक्ष्मीपूजा गरिनेछ। मिथिला परम्पराअनुसार आगामी बुधबार 'भैयादूज' (भाइटीका) मनाएपछि दीपावली पर्व सम्पन्न हुनेछ।