काठमाडाैँ । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा आक्रमण गरेको छ । रुसले विद्यालय भवनमाथि कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएका छन् । स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरस्थित उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए । भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिएको थियो ।
भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको बलियो आश्रयस्थल थियो । गत वर्ष निर्माण गरिएको उक्त संरचना अधिकांश हवाई आक्रमणको प्रभाव सहन सक्ने गरी बनाइएको थियो । तर, शक्तिशाली बमको प्रहारबाट कङ्क्रिट संरचना भत्किएपछि आगलागीसमेत भएको थियो ।
युद्धका कारण विद्यालय सञ्चालन हुन नसकेपछि उक्त भवनलाई स्थानीय प्रशासनिक कार्यालय र मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो । आक्रमण हुँदा त्यहाँ स्थानीय बासिन्दा राहत सामग्री लिन भेला भएका थिए ।
आक्रमणस्थलमा उद्धारकार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत मारिएका छन् । पहिलो आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका दुई उद्धारकर्मीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । युक्रेनी प्रहरीले आफ्ना चार अधिकारी पनि मारिएको जनाएको छ । उनीहरू भूमिगत आश्रयस्थलमा सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेका थिए ।
युक्रेनी प्रहरीका अनुसार पहिलो आक्रमणपछि उद्धार गर्न पुगेका र त्यहाँबाट बाहिर निस्कने प्रयास गरिरहेका मानिसहरू दोस्रो आक्रमणमा परेका थिए । विद्यालय भवनमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनका विभिन्न ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीले बताएका छन् ।