नेपाल भ्रमणमा अमेरिकी पर्यटकले जिते भारतलाई, अक्टोबरमा भित्रिए १ लाख ३२ हजारभन्दा बढी विदेशी

नेपाल भ्रमणमा अमेरिकी पर्यटकले जिते भारतलाई, अक्टोबरमा भित्रिए १ लाख ३२ हजारभन्दा बढी विदेशी

काठमाडौं। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सूचीमा अमेरिकाले भारतलाई उछिनेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२६ को अक्टोबर महिनामा सबैभन्दा धेरै अमेरिकी पर्यटक नेपाल आएका छन्।

बोर्डका अनुसार अक्टोबरमा १७ हजार ४३७ जना अमेरिकी नागरिकले नेपालको भ्रमण गरेका छन्। यस अवधिमा छिमेकी मुलुक भारतबाट १२ हजार ९७ जना पर्यटक मात्र नेपाल भित्रिएका छन्। गत वर्षको सोही महिनामा भारतबाट १७ हजार २९८ र अमेरिकाबाट १३ हजार २८६ पर्यटक आएका थिए।

अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५, बेलायतबाट ९ हजार ३८५ र अस्ट्रेलियाबाट ९ हजार ३५२ जना पर्यटक नेपाल आएका छन्। यसका साथै जर्मनी, श्रीलंका, बंगलादेश, फ्रान्स र म्यानमारबाट पनि उल्लेखनीय संख्यामा पर्यटक नेपाल भित्रिएका छन्।

भारतीय पर्यटकको आगमनमा आएको गिरावटसँगै सार्क क्षेत्रबाट हुने समग्र पर्यटक आगमनमा १७.२ प्रतिशतको कमी दर्ता भएको छ। गत वर्षको अक्टोबरमा सार्क क्षेत्रबाट २९ हजार ६० पर्यटक आएकोमा यस वर्ष सो संख्या २४ हजार ५३ मा खुम्चिएको छ।

अर्कातर्फ, युरोपेली तथा अमेरिकी महादेशका मुलुकहरूबाट आउने पर्यटकको संख्यामा भने वृद्धि भएको छ। अक्टोबर महिनामा युरोपबाट ३९ हजार ८७७ र अमेरिकी मुलुकहरूबाट २१ हजार २७० पर्यटक नेपाल भित्रिएका छन्।

समग्रमा सन् २०२६ को अक्टोबर महिनामा कुल १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशतले बढी हो।