काठमाडौँ । चक्रवात अर्नबको प्रभाव सकिएलगत्तै बंगालको खाडीमा पानी पार्ने अर्को प्रणाली बनेको छ। भारतको मौसम विज्ञान विभागले अहिले डिप्रेसनका रूपमा रहेको उक्त प्रणाली नोभेम्बर २ सम्म चक्रवातमा परिणत हुने जनाएको छ। यो प्रणाली नोभेम्बर ३ को बिहानीपख आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्ने सम्भावना रहेको पनि विभागलाई उद्धृत गरेर हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ।
‘अर्नब’ चक्रवातका कारण ठूलो क्षति ब्यहोरेको आन्ध्र प्रदेशमा फेरि अर्को सामुद्रिक आँधी आउने पूर्वानुमान छ। चक्रवात बनेमा यसको नाम ‘मुरासु’ रहनेछ। यो चक्रवातको नाम भारतले नै प्रस्ताव गरेको हो। यो प्रणाली डिप्रेसनमा परिणत भई उत्तरपश्चिमतर्फ अघि बढिरहेको र आज रातिसम्म गहिरो न्यून चापीय प्रणाली र त्यसपछि चक्रवातमा परिणत हुने भारतीय मौसम विभागको अनुमान छ।
त्यसपछि शक्तिशाली चक्रवाती आँधी बन्न सक्छ भनिएको छ। चक्रवातको प्रभावले आन्ध्र प्रदेशको तटीय क्षेत्रमा नोभेम्बर २ र ३ मा भारी वर्षा हुने अनुमान गरिएको छ।भेम्बर २ मा केही स्थानमा अत्यधिक भारी वर्षा हुन सक्ने र भोलिपल्ट पनि धेरै भारी वर्षाको सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ।
रायालसीमा क्षेत्रमा पनि दुवै दिन केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान छ। आँधीका बेला हावाको गति प्रतिघण्टा ८० देखि ९० किलोमिटर र झोक्कासहित १०० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यद्यपि यो अर्नबभन्दा कम शक्तिशाली हुने पूर्वानुमान रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। बंगालको खाडीमा विकसित भइरहेको यो प्रणालीले नेपालमा पनि प्रभाव पार्छ कि पार्दैन भन्ने चासो रहन्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिब अधिकारीका अनुसार अहिलेको विश्लेषणमा नेपालमा यसले प्रभाव पर्ने देखिएको छैन। यसअघि आएको चक्रवात अर्नबको प्रभाव भने नेपालमा भर्खरै सकिएको छ।
अर्नबको प्रभावका कारण बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म देशका अधिकांश भूभागमा वर्षा भएको थियो। शनिबार दिउँसोदेखि मौसममा क्रमिक सुधार हुन थालेको थियो। मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी वायुको पनि आंशिक प्रभाव मात्रै छ। आगामी दिनमा मौसम थप सुधार हुँदै जानेछ।
‘अर्नबको प्रभाव सकिएको छ। पश्चिमी वायुको पनि आंशिक मात्रै प्रभाव छ। मौसम झन् भन्दा झन् सुधार हुँदै जाने देखिन्छ। आगामी पाँच दिनका लागि कुनै चेतावनी छैन,’ उनले भने।