काठमाडौँ। काठमाडौँस्थित रेडिसन होटलमा आगामी नोभेम्बर ३ देखि ९ तारिख (२०२६) सम्म साताव्यापी ‘होक्काइडो जापानी फुड फेस्टिभल’ (Hokkaido Japanese Food Festival) आयोजना हुने भएको छ। नेपाल र जापानबीचको सांस्कृतिक तथा परिकारको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो फुड फेस्टिभल सञ्चालन गर्न लागिएको हो।
फेस्टिभल अवधिभर दैनिक साँझ ५:०० बजेदेखि ८:०० बजेसम्म ‘जापानी डिनर बुफे’ सञ्चालन हुनेछ। कार्यक्रममा जापानी सुसी सेफ हायासी काजुनोरी (Hayashi Kazunori) का साथै फ्युजन क्विजिन सेफ दिनेश-सान, कार्यकारी सेफ तथा निर्देशक लामा-सान र तेप्पान्याकी सेफ तथा निर्देशक सन्देश-सानले जापानी परिकारहरू तयार पार्नेछन्।
फेस्टिभलमा लाइभ सुसी र तेप्पान्याकीका साथै मौलिक जापानी स्वादका विभिन्न खानाका परिकारहरूको अनुभव लिन सकिनेछ।
गुणस्तरीय सेवा र विशिष्ट अनुभव सुनिश्चित गर्नका लागि दैनिक ७० जना पाहुनाका लागि मात्र स्थान सीमित गरिएको छ। फेस्टिभलमा सहभागी हुनका लागि प्रतिव्यक्ति शुल्क ३,००० रुपैयाँ निर्धारण गरिएको छ, जसमा १ सफ्ट ड्रिङ्क, कर तथा सेवा शुल्क समावेश छ। कार्यक्रमका लागि चाँडै बुकिङ खुला गरिने आयोजकले जनाएको छ।