काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने भएका छन्।
६५ वर्ष उमेर पूरा भएका कारण ज्येष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा दिएको निवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई कैदमुक्त गर्न पत्राचार गरेको हो।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको जानकारी दिएका छन्। प्राप्त संशोधित कैदीपुर्जी अनुसार रायमाझी कात्तिक २६ गते छुट्नेछन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो।
सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार उनले कैद छुटको सुविधा पाएका हुन्। रायमाझी कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदैछन्।