कांग्रेस-एमाले गठबन्धनले मुलुकमा राजनीतिक दुर्घटना निम्त्यायो : प्रचण्ड

कांग्रेस-एमाले गठबन्धनले मुलुकमा राजनीतिक दुर्घटना निम्त्यायो : प्रचण्ड

काठमाडौं।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको गठबन्धनले मुलुकलाई राजनीतिक दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रचण्डले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि कम्युनिस्ट तथा देशभक्त शक्तिहरूले सदैव निर्णायक भूमिका खेल्दै आएको दाबी गरे। आफ्नो तेस्रो प्रधानमन्त्रीकालको स्मरण गर्दै उनले सुशासन, सामाजिक न्याय र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताए। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढाइएको, मिटरब्याजपीडितलाई न्याय दिलाइएको, मधेशमा नागरिकता समस्या समाधान गरिएको र सामाजिक सुरक्षा कोषको दायरा विस्तारजस्ता ऐतिहासिक काम भएको उनले उल्लेख गरे।

यद्यपि, सुशासनका पक्षमा काम भइरहेकै बेला कांग्रेस र एमाले मिलेर सरकार ढाल्ने कदम चालेको र उक्त कदम अप्राकृतिक एवं संविधानको मर्मविपरीत भएको उनको भनाइ थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विगतका गल्ती र नेतृत्वको अहंकारबाट पाठ सिक्दै सम्पूर्ण कम्युनिस्ट, देशभक्त र लोकतन्त्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे। अहंकारकै कारण विगतमा जेनजी (Gen Z) आन्दोलनसमेत व्यहोर्नुपरेको उल्लेख गर्दै उनले दलहरूले गम्भीर आत्मसमीक्षा गरेर देशलाई अस्तव्यस्ततातर्फ जानबाट रोक्नुपर्नेमा जोड दिए।

नेपाली कम्युनिस्ट पार्टीमा हालसम्म २६ दल आबद्ध रहेकोमा नयाँ एकतासँगै घटक दलको सङ्ख्या २७ पुगेको जानकारी दिँदै उनले आगामी दिनमा अन्य कम्युनिस्ट शक्तिहरूलाई पनि ध्रुवीकृत गर्दै लैजाने विश्वास व्यक्त गरे। देश यतिबेला गम्भीर र जटिल मोडमा पुगेको टिप्पणी गर्दै उनले सकारात्मक परिवर्तनका लागि कम्युनिस्टहरू सधैँ आशावादी भएर अघि बढ्नुपर्ने बताए।