कसैले अहंकार नगरौं, हाम्रो अहंकार पोहोर साल चक्नाचुर भइसक्यो : प्रचण्ड

कसैले अहंकार नगरौं, हाम्रो अहंकार पोहोर साल चक्नाचुर भइसक्यो : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको अहंकार पोहोर साल चक्नाचुर भइसकेको बताएका छन्।

पार्टी कार्यालयमा आयोजित उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता कार्यक्रममा प्रचण्डले इतिहासबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने बताए। ‘हामी कसैले पनि अहंकार नगरौँ। हाम्रो अहंकार पोहोर साल चक्नाचुर भएको छ,’ प्रचण्डले भने।

प्रचण्डले फेरि पनि कम्युनिस्टहरूको बृहत् एकता आवश्यक रहेको बताए। विगतका एकताहरू असफल भए पनि कमजोरीबाट पाठ सिकेर फेरि एकतामा जानुपर्ने उनले उल्लेख गरे। अबको एकता सफल हुने भन्दै उनले निराश नहुन पार्टीका नेता-कार्यकर्ताहरूलाई आग्रह गरे।

त्यस्तै, आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सम्पूर्ण ध्यान भ्रष्टाचारविरुद्धको लडाइँतर्फ मात्र केन्द्रित गरेको उनको भनाइ छ। आफ्नो पालामा भ्रष्टाचारका ठूला काण्डहरू खोलिएको र कारबाहीको शृङ्खला पनि सुरु गरिएको उनले स्मरण गरे।

आफूलाई सरकारबाट हटाएर एमाले र कांग्रेसबीच भएको अलोकतान्त्रिक गठबन्धन नै देशका लागि ठूलो दुर्भाग्य बनेको उनले उल्लेख गरे।