काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मङ्गलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
सम्बोधनका क्रममा नेता नेपालले मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका समूहहरूलाई पनि एकता तथा सहकार्यको प्रक्रियामा आउन खुला आह्वान गरे। विगतमा विप्लव नेतृत्वको पार्टीसँग मिलेर समाजवादी मोर्चा गठन गरी देशव्यापी अभियान सञ्चालन गरेको स्मरण गर्दै उनले त्यसले जनस्तरमा शानदार उत्साह र तरङ्ग पैदा गरेको बताए। त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य समाजवादी शक्तिहरूलाई पनि राष्ट्रियताको रक्षा, संविधान र गणतन्त्रको संरक्षण तथा जनअधिकारका पक्षमा मिलेर अघि बढ्न उनले आग्रह गरे।
नेपाली कम्युनिस्ट पार्टीप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो अपेक्षा रहेको दाबी गर्दै नेता नेपालले विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आएको बताए। अमेरिकी साम्राज्यवादका आक्रामक नीति र नेपाललाई रणनीतिक स्वार्थ पूरा गर्ने क्रीडास्थलका रूपमा हेर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा गम्भीर चुनौती थपेको उनको भनाइ थियो। यद्यपि, पछिल्लो विश्व परिवेशमा विकसित भइरहेका घटनाक्रमले वामपन्थी र परिवर्तनका पक्षधरहरूलाई सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे।
सोही कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले नेपाली कम्युनिस्ट आन्दोलन अहिले असाध्यै रक्षात्मक अवस्थामा पुगेको स्वीकार गरिन्। विगतमा ६० देखि ६५ प्रतिशतसम्म रहेको कम्युनिस्ट जनमत घटेर अहिले २२ देखि २३ प्रतिशतमा खुम्चिएको र दुईतिहाइ बहुमतको सरकार चलाएका शक्तिहरू आज सीमित सिटमा सीमित हुनुपरेको यथार्थ उनले औँल्याइन्। कम्युनिस्ट आन्दोलन अहिले ‘कि गर, कि मर’ वा ‘कि सुधार, कि पतन’ भन्ने मोडमा आइपुगेको चेतावनी दिँदै उनले एकता र रूपान्तरणबिना अस्तित्व जोगाउन नसकिने स्पष्ट पारेकी छिन्।
आन्तरिक कमजोरीका साथै बाह्य शक्तिहरू पनि कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन सक्रिय रहेको आरोप लगाउँदै महासचिव भुजेलले कुनै पनि पार्टी एक्लै अघि बढेर चुनाव जितेर जान सक्ने अवस्था नरहेको बताइन्। प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा सबै कम्युनिस्ट शक्तिहरू गोलबन्द हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले केवल ठूलो पार्टी बनाउनु मात्र एकताको उद्देश्य नभई समाजवाद स्थापनाका लागि नेतृत्वले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिइन्।