एनपीएलमा आज दुई रोमाञ्चक खेल हुँदै: विराटनगरसँग जनकपुर र पोखरासँग लुम्बिनी भिड्दै

एनपीएलमा आज दुई रोमाञ्चक खेल हुँदै: विराटनगरसँग जनकपुर र पोखरासँग लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमने-सामने हुँदा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेल: विराटनगर र जनकपुरबीचको भिडन्त (दिउँसो साढे १२ बजे)

आज दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन्। अहिलेसम्म तीनवटा खेल खेलेको विराटनगरले एक जित र दुई हारको नतिजा निकालेको छ। यसअघि चितवन राइनोज र कर्णाली याक्सविरुद्ध पराजित भएको विराटनगरले सुदूरपश्चिम रोयल्सविरुद्ध भने उत्कृष्ट जित निकालेको थियो।

उता, जनकपुर बोल्ट्सले पनि हालसम्म तीन खेल खेल्दै दुईमा जित र एकमा हार व्यहोरेको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सविरुद्ध लगातार शानदार जित हात पारेको थियो। आजको खेलमा विराटनगर आफ्नो लय फर्काउने दाउमा हुँदा जनकपुर विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ।

दोस्रो खेल: पहिलो जितको खोजीमा पोखरा र लुम्बिनी आमने-सामने (दिउँसो साढे ४ बजे)

आज दिउँसो साढे चार बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। लुम्बिनीले हालसम्म खेलेका दुई खेलमध्ये एकमा जित र एकमा अंक बाँडेको छ। सुदूरपश्चिमविरुद्धको पहिलो खेलमा विजयी भएको लुम्बिनीको चितवनविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द हुँदा अङ्क बाँड्नुपरेको थियो।

यता, पोखरा एभेन्जर्सका लागि भने प्रतियोगिताको सुरुआत राम्रो हुन सकेको छैन। पोखराले खेलेका दुवै खेलमा हार बेहोरेको छ। आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको पोखरा आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा पहिलो जितको खाता खोल्ने दाउमा मैदान उत्रिनेछ।