चितवन राइनोज ५ विकेटले पराजित: सुदूरपश्चिम रोएल्सको दोस्रो जित, लुम्बिनी लायन्स मात्रै अपराजित

चितवन राइनोज ५ विकेटले पराजित: सुदूरपश्चिम रोएल्सको दोस्रो जित, लुम्बिनी लायन्स मात्रै अपराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

चितवन राइनोजले प्रस्तुत गरेको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६ दशमलव चार ओभरमा पाँच विकेट गुमाउँदै १३१ रन बनाएर सहजै पूरा गर्‍यो। यो जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अंक जोडेको छ।

यस संस्करणमा चितवनको भने यो पहिलो हार हो। आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको चितवनले दोस्रो खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो। तीन खेलबाट तीन अंक जोडेको चितवनको पराजयसँगै जारी प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्स मात्रै एक मात्र अपराजित टोलीका रूपमा कायम रहेको छ।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४३ रनको योगदान दिए। उनले मात्र २१ बलमा छ चौका र दुई छक्का प्रहार गरे। यस्तै, इशान पाण्डेले २९ बलमा दुई चौकाको मद्दतले २५ रन जोडे।

टोलीको स्कोर केवल तीन रन छँदा पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे। विनोद ११ रनमा आउट भएपछि म्याकमुलेनले इशानसँग तेस्रो विकेटका लागि ३६ रनको साझेदारी सम्हाले।

म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह ऐरी लगातार आउट भएपछि सुदूरपश्चिम ७०–४ को कठिन स्थितिमा पुगेको थियो। तर, आरिफ शेख र इशान पाण्डेले पाँचौँ विकेटका लागि ३३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ दोहोर्‍याए। इशान आउट भएपछि आरिफले शेरफान रदरफोर्डसँग मिलेर टोलीलाई जित दिलाए। रदरफोर्डले १५ बलमा दुई चौका र एक छक्कासहित अविजित २१ रन बनाए भने आरिफले २६ बलमा अविजित २० रन जोडे।

बलिङतर्फ चितवनका रञ्जित कुमारले चार ओभरमा २८ रन खर्चेर तीन विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरे पनि अर्धशतक पूरा गर्न एक रन बाँकी छँदा ठूलो सट खेल्ने प्रयासमा आउट भए।

सुरुआती २७ रनमै दुई विकेट गुमाएको चितवनका लागि बोपारा र डाविड मालानले तेस्रो विकेटका लागि ३५ रन तथा बोपारा र कप्तान सिकन्दर राजाले चौथो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए। तल्लो क्रमका ब्याटर विवेक कुमार यादवले १५ बलमा १७ रन, डाविड मालानले १६ रन तथा अर्जुन साउद र सिकन्दर राजाले समान १५–१५ रन जोडे। टम टेलर छ रनमा अविजित रहे।

सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट लिए।

प्रतियोगिताअन्तर्गत मङ्गलबार पनि दुई वटा खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।