कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। 

कर्णालीका लागि ओपनर ब्याटर आरिफूल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटको लागि आरिफूलले जिसन आलमसँग २० रनको मात्रै साझेदारी बनाउन सके। मार्क वाटले १७ रन बनाउँदा दिपक प्रसाद डुम्रेले ८ रन बनाउँदै क्याच भए। पाँचौं विकेटको रुपमा हुसैन तलात ४० रन बनाउँदै हिट द विकेटको शिकार भए। उनले पाँचौं विकेटको लागि पवन सर्राफसँग ६५ रनको साझेदारी बनाएका थिए। 

१९ औं ओभरको पहिलो बलमा पुनः काठमाडौंले क्याच मिस गर्यो। गुल्सन झाले ११ रनमा जीवनदान पाए। विकेटकिपर र फिल्डरमा साझेदारी नबन्दा क्याच छुटेको हो। उनी १२ बलमा २ छक्कासहित २० रन बनाउँदै क्याच भए।  पवन सर्राफले १८ औं ओभरको अन्तिम बलमा रिपोन मन्डोलको बलमा साहब आलमले क्याच छोड्दा २२ रनमा जीवनदान पाए। पवानले २४ बलमा २ छक्कासहित ३० रनमा अविजित रहे। सोमपाल कामी १ रनमा अविजित रहे। 
काठमाडौं गोर्खाजको लागि करण केसीले २ विकेट लिए। साहब आलम, देव शाह, जहानदाद खान र सन्तोष यादवले १–१ विकेट लिए। 

कर्णालीको तेस्रो खेल हो। काठमाडौंको भने यो दोस्रो खेल हो। कर्णाली याक्सले  पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो।  काठमाडौंले भने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। 

आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको खेल हुनेछ।