पश्चिमी वायुको सामान्य प्रभाव रहँदा कस्तो रहला आजको मौसम ?

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा कस्तो रहला आजको मौसम ?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा मौसम आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।