ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण
नेपाल डेली
बुधबार, १८ कार्तिक २०८३, १९ : ३६ मा प्रकाशित
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गर्दै विपक्षी डेमोक्रेटलाई बधाई दिएका छन्।
तर उनले हारको व्यक्तिगत जिम्मेवारी लिन अस्वीकार गर्दै पार्टीका उम्मेदवारहरूको कमजोरीलाई दोष दिएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताउँदै आफूले यसलाई व्यक्तिगत हारका रूपमा नलिएको उल्लेख गरे। उनले डेमोक्रेटहरूसँग विभिन्न विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभए पनि आफूलाई मन नपर्ने विधेयकमा भिटो लगाउने चेतावनी दिए।
इरान युद्ध र बढ्दो तेलको मूल्य मतदातामाझ अलोकप्रिय बनेको स्वीकार गर्दै उनले युद्ध निर्वाचन परिणाम प्रभावित पार्ने एउटा कारण भएको बताए। यद्यपि, इरानप्रति आफूले अपनाएको नीतिको महत्त्व मतदाताले बुझेको उनको दाबी थियो ।
ट्रम्पले ट्रुथ सोसलमा आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले ठूलो अन्तरले जित्ने दाबी गरे। उनले टेक्सासका गभर्नर ग्रेग एबटको आलोचना गर्दै उनी नाम मात्रका रिपब्लिकन भएकाले पराजित भएको टिप्पणी गरे।
ह्वाइट हाउसका एक अधिकारीले पनि रिपब्लिकन उम्मेदवारहरूको गुणस्तर निर्वाचन परिणाममा प्रभाव पार्ने महत्त्वपूर्ण पक्ष भएको बताएका छन् । प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटहरूको नियन्त्रण कायम भएपछि ट्रम्पको कार्यकालका अन्तिम दुई वर्ष चुनौतीपूर्ण हुने देखिएको छ ।
यसबीच ह्वाइट हाउसले इरानविरुद्ध सैन्य कारबाही पुनः विस्तार हुन सक्ने सम्भावनालाई नकारेको छैन । साथै, निर्वाचन परिणामपछि आफ्ना राजनीतिक विरोधीहरूलाई रोक्ने ट्रम्पको सङ्कल्प अझ बलियो हुने सङ्केत पनि दिएको छ ।