काठमाडौँ । मिल्सबेरी स्कुल, यसका संस्थापक, व्यवस्थापन, शिक्षक–कर्मचारी तथा अभिभावकहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा फैलिएका तथ्यहीन आरोप र अमर्यादित अभिव्यक्तिप्रति स्कुलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शिक्षा क्षेत्रका व्यक्तित्व डा. रुद्र पाण्डेले फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिहरूमाथि आपत्ति जनाउँदै विद्यालयले एक औपचारिक विज्ञप्ति मार्फत वास्तविकता सार्वजनिक गरेको छ।
विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता, स्वस्थ आलोचना र रचनात्मक सुझावको सधैँ सम्मान गर्ने स्पष्ट पारिए पनि पर्याप्त तथ्य र प्रमाणबिना कुनै संस्था वा व्यक्तिको प्रतिष्ठामा आघात पुर्याउने गरी आरोप लगाउनु जिम्मेवारीपूर्ण नहुने उल्लेख छ।
मिल्सबेरी स्कुलले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै विद्यालय कुनै पनि संघ वा संगठनको सदस्य नरहेको, शिक्षक तथा कर्मचारीलाई प्रतिस्पर्धी पारिश्रमिक तथा सेवासुविधा दिइएको र २०८३ साल वैशाखदेखि नै सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध भई नियमानुसार रकम जम्मा भइरहेको स्पष्ट पारेको छ।
आपत्कालीन परिस्थितिबाहेक बिदाका दिन अनावश्यक रूपमा दबाब दिने नीति नरहेको तथा शिक्षकहरूलाई अभिभावकहरूसँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको भन्ने आरोप पूर्णतः असत्य रहेको विद्यालयले जनाएको छ। शिक्षक तथा कर्मचारीहरू विद्यालयका अभिन्न अङ्ग भएको र उहाँहरूको आत्मसम्मान तथा व्यावसायिक विकासलाई उच्च प्राथमिकता दिइने कुरामा विद्यालय स्पष्ट छ।
साथै, सामाजिक सञ्जालमा अभिभावकहरूलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरिएको र शिक्षकहरूको मर्यादामा प्रश्न उठाइएको प्रति विद्यालयले गम्भीर दुःख व्यक्त गरेको छ। बिनासहमति संस्थापक तथा व्यवस्थापनका तस्बिरहरूलाई अप्रमाणित आरोपहरूसँग जोडेर सार्वजनिक गरिएको विषयमा पनि विद्यालयले आपत्ति जनाएको छ।
मिल्सबेरी स्कुलले आफ्नो अभिव्यक्तिमाथि गम्भीर आत्मालोचना गर्न, गलत विवरण सच्याउन, अमर्यादित शब्दहरूप्रति खेद व्यक्त गर्न र सम्बन्धित पोस्ट हटाउन अनुरोध गरेको छ। यदि यस्ता तथ्यहीन सामग्रीहरू यथावत् राखिएमा संस्थागत तथा व्यक्तिगत प्रतिष्ठा र अधिकारको संरक्षणका लागि प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।