काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५३६ वटा सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा बिहीबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, तीव्र गतिमा सवारी चलाउने १०५ जना र सिसिटिभीमार्फत निगरानी गरी कारबाहीमा परेका २१ जना रहेका छन्। यसैगरी, रातो बत्ती उल्लंघन गर्ने १० जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना, एकतर्फी बाटो उल्लंघन गर्ने २ जना, लेन अनुशासन उल्लंघन गर्ने १ जना र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ३१० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप चुस्त र सुरक्षित बनाउनका लागि प्रहरीले नियमित रूपमा चेकिङलाई कडाइ गर्दै आएको छ।