नेपाली कांग्रेस नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाइएको भन्दै सशक्त प्रतिवाद गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाइएको भन्दै सशक्त प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नेतृत्व र वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै त्यसको संसद्, संसदीय समिति र आम नागरिकमाझ सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकपछि जानकारी दिँदै कांग्रेस सहमहामन्त्री प्रकाश रसाइलीले राज्य संरक्षित तथा नियन्त्रित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रामक प्रचार गरिएको आरोप लगाए। त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ।

"राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको छ," सहमहामन्त्री रसाइलीले भने, "यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ।"

कांग्रेसले संसद् अधिवेशन तुरुन्त आह्वान गर्न माग गरिसकेको उल्लेख गर्दै उनले जुनसुकै प्रकारको निष्पक्ष छानबिनका लागि पार्टी तयार रहेको र त्यसबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे। निर्वाचनका बेला पार्टीको वैधानिकतासँग कुनै सम्बन्ध नरहेका व्यक्तिहरूलाई जोडेर अनर्गल प्रचार गरिएको कांग्रेसको ठहर छ।

यसैगरी बैठकले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकलाई चाडपर्वका बेला सहयोग पुर्‍याउने विषयमा पनि छलफल गरेको छ। बाढी प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूलाई आवश्यक राहत र सहयोगको योजना बनाउन २० गते दिउँसो २ बजे पार्टी कार्यालयमा बोलाइएको सहमहामन्त्री रसाइलीले जानकारी दिए।