अमेरिकी मध्यावधि चुनावमा हारको मुख्य कारण इरान युद्ध: उपराष्ट्रपति जेडी भान्स

अमेरिकी मध्यावधि चुनावमा हारको मुख्य कारण इरान युद्ध: उपराष्ट्रपति जेडी भान्स

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा सत्ताधारी रिपब्लिकन पार्टीले व्यहोरेको हारको प्रमुख कारण इरानसँगको युद्ध रहेको उपराष्ट्रपति जेडी भान्सले बताए। सामाजिक सञ्जाल ‘एक्स’ मा लामो पोस्ट लेख्दै उनले चुनावी परिणामबारे आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरे।

‘हाम्रो हारको मुख्य कारण इरानसँगको युद्ध नै हो,’ उपराष्ट्रपति भान्सले भने, ‘हामी किन हार्‍यौँ र अब कुन दिशातर्फ अघि बढ्नुपर्छ भन्नेबारे हुने कुनै पनि निष्पक्ष समीक्षाको सुरुवात यही तथ्यबाट हुनुपर्छ।’

उनका अनुसार इरान युद्ध, नियन्त्रणबाहिर गइरहेको महँगी र अन्य विविध कारणले गर्दा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प र आफूलाई मतदान गरेका कैयौँ समर्थकहरूले समेत यसपटक पार्टीको साथ छाडे। मतदाताहरू वर्तमान प्रशासनको आप्रवासन नीतिप्रति समेत असन्तुष्ट रहेको स्वीकार गर्दै भान्सले उक्त नीतिमा आवश्यक सुधार गर्न आफू तयार रहेको सङ्केत जनाए।

महिनौँसम्म सार्वजनिक रूपमा युद्धको बचाउ गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा उपराष्ट्रपति भान्सले चुनावी हार र युद्धप्रतिको जनआक्रोशबारे अझ बढी स्पष्ट धारणा व्यक्त गरे।

भान्सको यो कडा अभिव्यक्तिले सन् २०२८ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनको सम्भावित उम्मेदवारीबारे चासो बढाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार भान्सले आगामी राष्ट्रपतीय दौडमा आफ्नो दाबी प्रस्तुत गर्न यही अवसरलाई प्रयोग पारेका हुन्। यद्यपि, उम्मेदवारीबारे सोधिएका प्रश्नहरूमा उनले हालसम्म सोझो जवाफ भने दिएका छैनन्। मध्यावधि चुनाव सकिएसँगै अब भान्समाथि आफ्नो राजनीतिक भविष्य र सन् २०२८ को निर्वाचनबारे छिट्टै निर्णय लिन दबाब बढेको छ।