काठमाडौँ। सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सुरक्षा निकायबीच आपसी समन्वय अभिवृद्धि गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच १०औँ द्विपक्षीय समन्वय बैठक सुरु भएको छ।
काठमाडौँमा सुरु भएको दुई दिने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्। बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिहरूको सहभागिता छ। यस्तै, भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्, जसमा भारतीय गृह, विदेश मन्त्रालय र भारतीय राजदूतावासका उच्च पदस्थ अधिकृतहरू सहभागी छन्।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बैठकमा सीमाको प्रभावकारी सुरक्षा, अवैध गतिविधि, मानव तस्करी, लागूपदार्थ तथा अवैध हातहतियार ओसारपसार नियन्त्रण र सीमा क्षेत्रमा शान्ति-सुव्यवस्था कायम गर्ने विषयमा समीक्षा हुनेछ।
साथै, दशगजा अतिक्रमण हटाउने, सीमा स्तम्भको मर्मतसम्भार, विपद् जोखिम न्यूनीकरण, तत्काल सूचना आदानप्रदान, क्षमता अभिवृद्धि र तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रण जस्ता विषयमा पनि विचारविमर्श हुने प्रवक्ता कार्कीले जानकारी दिए। सीमावर्ती नागरिकहरूसँगको सम्बन्ध सुदृढ बनाउन मैत्रीपूर्ण खेलकुदलगायतका गतिविधि सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।
यो द्विपक्षीय बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै निकायको सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।