काठमाडौं। राजनीतिक दलहरू आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन्। निर्वाचन आयोगले चुनावको मिति अझै तोकेको छैन भने संविधानतः आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्नेछ।
निर्वाचनको मिति घोषणा हुन बाँकी रहे पनि राजनीतिक दलहरू आन्तरिक तयारी र चुनावी रणनीतिक Hoमा होमिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिक मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख पदका लागि क्याण्डिडेट क्लबमार्फत आवेदन खुलाइसकेको छ।
दशैँलगत्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा गुमेको जनमत जोगाउने उद्देश्यले स्थानीय र प्रदेशसभा निर्वाचन लक्षित दुईमहिने ‘जागरण अभियान’ सुरु गरेको छ।
आन्तरिक विवाद चिर्दै दशैँअगाडि मात्र १५औँ महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस पनि आसन्न स्थानीय तह चुनावको तयारीमा जुटेको छ। कांग्रेसले यसपटक डिजिटल मतदानमार्फत उम्मेदवार चयन गर्ने विधानको व्यवस्थालाई व्यवहारमा लागू गर्ने तयारी गरेको छ।
स्याङ्जामा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने पुरानो प्रवृत्तिको अन्त्य गरिने घोषणा गरेका छन्। उनले पुस र माघभित्रै उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया टुङ्ग्याइने जानकारी दिँदै आगामी मङ्सिर महिनालाई जागरणको महिना बनाउन र पार्टीले गुमाएको मतभन्दा पनि जनताको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका वा जिम्मेवारी नपाएका कार्यकर्तालाई योग्यता अनुसारको उचित जिम्मेवारी दिइने तथा पार्टीबाट टाढिएका करिब १० लाख मानिसको घरमा पुग्ने लक्ष्य राखिएको उनले बताए। तनहुँमा आयोजित कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले जनतामा कांग्रेसप्रतिको अपार माया र विश्वास अझै कायम रहेको दाबी गर्दै आगामी स्थानीय र प्रदेश निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरिने स्पष्ट पारेका छन्।
यसैबीच, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नागरिकको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभएको छ। चाडपर्वका बेला बजार नियन्त्रण गर्न र महँगी रोक्न सरकार असफल भएको बताउँदै उहाँले जनतामा बढेको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्ने चेतावनी दिएका छन्।
अर्कोतर्फ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोह आगामी बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने भएको छ।
निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूलाई शपथका लागि निमन्त्रणा गरेको छ। सभापतिमा निर्वाचित गगनकुमार थापाले भने यसअघि नै फूलपातीको दिन शपथग्रहण र पदबहाली गरिसकेका छन्।