अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति राजेश हमालको कडा आपत्ति

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति राजेश हमालको कडा आपत्ति

काठमाडौं।  अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको एक अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। अर्थमन्त्रीले आफ्नो पदीय मर्यादा नाघेको टिप्पणी गर्दै उनले यस्तो चाकडीपूर्ण व्यवहारले नेपालको लामो समयदेखिको सैद्धान्तिक परराष्ट्र नीतिको जग नै खल्बल्याउने जोखिम बढाएको बताएका छन्।

अर्थमन्त्रीको प्रस्तुतिबारे सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत धारणा राख्दै हमालले भनेका छन्, ‘यस्तो चाकडीपूर्ण व्यवहारले हाम्रो सार्वभौमसत्ताको मर्यादामा आँच मात्र पुर्‍याउँदैन, नेपाल र भारतबीच दुवै देशले उच्च सम्मानका साथ कायम राखेको ऐतिहासिक सम्बन्धको समेत उपहास गर्छ।’

परराष्ट्र नीति व्यक्तिगत तजबिज वा राजनीतिक लाभ-हानिको विषय हुन नसक्ने स्पष्ट पार्दै उनले यो राष्ट्रिय सार्वभौमसत्ता, मर्यादा र दिगो सिद्धान्तसँग जोडिएको गम्भीर विषय भएको उल्लेख गरेका छन्। सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले देशको अन्तर्राष्ट्रिय छविलाई कमजोर पार्ने गरी अभिव्यक्ति दिन वा सम्झौता गर्न नहुने उनको भनाइ छ।

नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा गहिरोसँग जोडिएको स्मरण गराउँदै अभिनेता हमालले छिमेकीसँगको सम्बन्ध बलियो बनाउनु स्वाभाविक र अनिवार्य रहेको बताएका छन्। तर, यो ऐतिहासिक सम्बन्धलाई व्यक्तिगत चाकडी वा सार्वजनिक रूपमा खिल्ली उडाउने विषय बनाउन नहुने उनले प्रष्ट पारेका छन्।

‘एक नागरिकका रूपमा म छिमेकीसँग सम्बन्ध बलियो बनाउने हर प्रयासको स्वागत गर्दछु,’ हमालले भनेका छन्, ‘तर सँगसँगै हाम्रा प्रतिनिधिहरूले परिपक्व कूटनीतिक विवेक देखाउँदै देशको अडानलाई मर्यादित र सन्तुलित रूपमा प्रस्तुत गरून् भन्ने अपेक्षा पनि गर्दछु।’

नेपाल र भारतबीच सीमा समस्या तथा आर्थिक परनिर्भरताजस्ता ऐतिहासिक जटिलताहरू रहेको उल्लेख गर्दै हमालले सरकारलाई सस्तो प्रचारबाजी वा भाषणबाजीभन्दा पनि स्थापित कूटनीतिक संयन्त्र, तथ्य-प्रमाण र सौहार्दपूर्ण संवादमार्फत आफ्नो स्पष्ट दृष्टिकोण राख्न सुझाव दिएका छन्।