यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान

काठमाडौँ । यस साताको अन्त्यमा देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । केही भूभागमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली अर्थात् न्यूनचापीय क्षेत्र बिस्तारै मजबुत हुँदै गएको र त्यसको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।महाशाखाले अबका चार दिन (कात्तिक ११ )सम्मलाई कुनै मौसमी चेतावनी जारी गरेको छैन । बिहीबार (कात्तिक १२)का निम्ति भने वर्षा र हिमपातको सम्भावना औँल्याइएको छ ।

“कार्तिक १२ गते (बिहीबार) कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ,” महाशाखाले भनेको छ ।

बिहीबार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । “ती क्षेत्रमा हुन सक्ने गेग्य्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता साथै विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

मौसमबारे यसपछिका दिनका निम्ति महाशाखाले दैनिक रूपमा जारी गर्ने बुलेटिनमार्फत जानकारी गराउनेछ ।केही मौसमविद्ले भने आउँदो शनिबार (कात्तिक १४)सम्मको मौसमी विश्लेषण सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएका छन् ।

“आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।”

हालको पूर्वानुमानानुसार २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने उनले उल्लेख गरेका छन् । “यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा अझै परिवर्तन हुन सक्छ,” उनले भनेका छन्, “किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीहरूले विशेष सावधानी अपनाउनुहोला ।”

यस मौसमी प्रणालीबारे उनले केही दिनअघिदेखि जानकारी गराउँदै आएका छन् । विशेष गरी धानबालीसँग सम्बन्धित किसान, हिमाली क्षेत्रका बासिन्दा र पदयात्रीले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

बंगालको खाडीमा विकसित उक्त न्यूनचापीय क्षेत्र आज गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्छ । त्यसपछि भोलि (अक्टोबर २६) बिहानसम्म चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसपछि त्यो प्रणाली अझ शक्तिशाली बन्दै अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा त्यससँग जोडिएको दक्षिण ओडिसाको तटीय क्षेत्रमा अगाडि लाग्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।

त्यो प्रणाली त्यहाँबाट अगाडि बढ्दै भारतको बिहार हुँदै नेपालसम्म असर पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जनाएका छन् ।

“...भारतको उडिसा (ओडिसा)–बिहार हुँदै नेपालतिर आउने र भारी हिमपात अनि पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उच्च हिमाली क्षेत्रको पदयात्रा पनि माथि उल्लेख गरिएका दिनमा नगर्नु र नगराउनु उत्तम हुनेछ ।”

बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेनीय परिवर्तनको सम्भावना नरहेको महशाखाले जनाएको छ ।